नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

२०७७ माघ १, १८: ०५ मा प्रकाशित
detail 1

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्।

नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन्।

सरकारले आफ्नो समूहमाथि दमन र धरपकड गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

यस अघि नेपाल प्रहरीको विशेष ब्युरोले गत बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

कार्यक्रम :

२०७७ माघ ३ गते : देशव्यापी बिरोध जुलुस
२०७७ माघ ५ गते : देशव्यापी बिरोध सभा
२०७७ माघ ७ गते : देशव्यापी बिरोध प्रदर्शन
२०७७ माघ ९ गते : देशव्यापी मशाल जुलुश
२०७७ माघ १० गते : नेपाल बन्द

Detail 2

प्रतिक्रिया दिनुहोस्