काठमाडौंमा सभा–जुलुस गर्न स्थानीय प्रशासनको निषेध

१६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँमा सभा , जुलुस लगायत अन्य भिडभाड हुने कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्यनजर गर्दै बीच सभा, जुलुस, प्रदर्शन वा विभिन्न अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने पनि जिप्रका काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले थप भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।