निर्माण सामग्रीमा मूल्य वृद्धि : निर्माण ब्यबसायी महासंघद्वारा ध्यानाकर्षण

मङ्सिर १४ , काठमाडौं । नेपालमा निर्माण सामग्रीमा मूल्य वृद्धि भएको छ। कोभिड -१९ को महामारीका बीच निर्माण सुरु हुने समय आए लगत्तै निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएको हो। नेपाल निर्माण ब्यबसायी महासंघले यस प्रति गम्भीर ध्यानाकर्षण गरेको छ।

विभिन्न फलामजन्य निर्माण सामग्री , डन्डी , जस्तापाता , जी आइ तार , ग्याबिन तार उत्पादक कम्पनी र नदिजन्य निर्माण सामग्री उत्पादन गर्ने क्रसर ब्यबसायीले अत्यधिक रुपमा मुल्यबृद्धि गरेको महासंघले जनाएको छ। महासंघका महासचिब रोशन दाहालले जारी गरेको बिज्ञप्तिमा “फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा धेरै मूल्यवृद्घि गरी मिलेमतो गरेको पाईएको बारे उल्लेख गरेका छन्।

हालको मुल्यबृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घको भनाइ छ । गृह मन्त्रालयको हालै आएको निर्देशन अनुरुप मुलुकको कुनै पनि स्थानबाट बिना स्वीकृति नदिजन्य सामग्रीको उत्खंनन र बिक्रि वितरण गर्न नपाईने प्रति पनि महासंघले असन्तुष्टि जनाएको छ ।

गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनामा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासङ्घले सरोकार भएका सबै निकायको ध्यानाकर्षण पनि गराएको छ ।

केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डन्डी (प्रतिकेजी) मा रु. १५ देखि २० सम्म मूल्यवृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्घि भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार कोभिड– १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् । रासस