तिहार बिदामा थप १ दिन सार्बजनिक बिदा

२६ कात्तिक, काठमाडौं । गत बर्ष झैँ यस बर्ष पनि सरकारले थप १ दिन तिहार बिदा दिने भएको छ। नेवार समुदायले मनाउने किजा पुजालाई लक्षित गर्दै आज बसेको मन्त्रिपरिषद बैठकले मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तिथि विवादमा रहेको कारणले गर्दा सरकारले बिदा थपेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा  भाइटीका तोकेको छ ।

२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।

उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।