सुन्धारा स्थित मस्जिद तोडफोडमा संलग्न दुई पक्राउ

१०  कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिद तोडफोडमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँका रत्नकाजी महर्जन र डोजरका चालक छन्।

गत शनिबार जबर्जस्त रुपमा तोडफोड गर्नेलाई महानगरीय प्रहरी परिसर टेकुले नियन्त्रणमा लिएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी  श्याम ज्ञवालीले तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चालकलाई पक्राउ गरिएको बताए। ज्ञवालीले भने, ‘मस्जिद तोडफोड गर्न लगाउने महर्जन हुन्, उनी र उनले खटाएका चालकलाई हामीले पक्राउ गरी आवश्यक कारबाही थालेका छौं।’

एक सय बर्षभन्दा पुरानो यो मस्जिदमा बिगत देखि नै भू- माफियाले आँखा गाडेका थिए। सुन्धारामा निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ।

यस मस्जिद २०७२ सालको भूकम्पमा क्षतिग्रस्त बनेको थियो। सो पश्चात मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई हाल प्रयोग गरिरहेका छन्।