सिसडोल बासीले दिए १५ दिने अल्टिमेटम : फोहोर मैला ब्यबस्थापनमा अवरोध हुने

२६ पुस, काठमाडौँ। सिसडोल बासीले १५ दिन भित्रमा आफुहरुको माग सम्बोधन नगरे फोहोर मैलाका सवारीसाधनलाई बीच बाटोमै अवरोध गर्ने चेतावनी दिएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे मागको सम्बोधन नभएमा काठमाडौंबाट फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा सो समितिका संयोजक नवराज ढुंगानाले बिगत १५ बर्ष देखि फोहोर थुप्रीएर आतंक मच्चाई राख्दा पनि सरकारले आश्वासन मात्र दिइएको भन्दै यसपटक भने आफुहरु कठोर कदम चाल्ने बताएका हुन् । उनले सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुंगो लगाउन पनि सरकारसँग माग गरे ।

कार्यक्रममा सरकारका तर्फबाट शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको कार्य केन्द्र सरकारको नभई काठमाडौँ महानगरपालिकाको हो भन्दै पन्छिए। उनले फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकोले यसको दिगो समाधानका निम्ति नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौंबाट प्रहरी परिचालन गरेर स्थानीय जनतालाई दबाबमा परेर जबर्जस्त फोहोर फाल्दै आएको आरोप लगाए । उनले जनतामाथि जोडजर्बजस्ती सह्य नहुने तर सो समस्याका समाधान गर्नका निम्ति सरकारले त्यसको बैकल्पिक व्यबस्थापन गरेर कर उठाएर यसको उचित व्यवस्थान गर्नुपर्ने जोड दिए।

कार्यक्रममा समितिले उपत्यकाको फोहरले सिसडोल आसपासका बस्तीहरुमा विगत १५ वर्षदेखि निरन्तर आतकं मच्चाउँदै आइरहेकाले समस्या हल गर्नका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद्बाट वा मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु, विषयगत समितिहरु र उपत्यका नगर फोरम सहित सरोकारवालाहरुको प्रतिनिधिको उपस्थितिमा संयुक्त बैठक बसी तत्काल स्थानियवासीहरुको माग सम्बोधन गर्न माग गरेको छ ।