संखुवासभामा नेकपा (विप्लव ) र प्रहरीबीच गोली हानाहान

१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले चैनपुर – ४ , मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ    गरेपछि आफुहरुले जवाफी फायरिङ गरेको जनाएको छ।

विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

पहिला प्रहरीले सादा पोशाकका प्रहरीको टोली घरतिर पठाएको थियो ,तर राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेर गोलि चलाए  पश्चात थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।

सो क्रममा विप्लब समूहका नेतासहित ३ जना फरार भएका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत प्रहरीले बरामद गरेको छ ।

बिगत केहि महिना देखि नै मैदानेमा विप्लव समूहका नेता, कार्यकर्ता देखिने गरेका थिए । यसअघि ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।

 

Leave a Reply